काठमाडौं । पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीसमेत रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनीष सुमनले बताउनुभयो । उहाँले सरकारमा आफूहरु रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताउनुभयो ।
वर्तमान सत्ता गठबन्धनको जग आफूहरुले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरु प्रतिबद्ध रहेको प्रवक्ता सुमनको भनाइ थियो । उहाँले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गर्नुभयो ।
किन फुट्यो जसपा नेपाल ? (प्रवक्ता मनीष सुमनसँग कुराकानी)
अध्यक्ष उपेन्द्र यादवले पार्टीका सात सांसदले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारेबारे मंगलबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्ताहरुसँग अनौपचारिक छलफल गर्नुभएको छ ।
प्रवक्ता सुमनले वैशाख २६ गते (भोलि) बुधबार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन पनि पार्टीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिनुभयो ।