खेलकुद मन्त्रालयले माग्यो दशरथ रंगशालाको मापदण्ड पूरा गर्न कमी रहेका संरचनाको विवरण

पाँच दिनभित्र उपलब्ध गराउन राखेप र एन्फालाई निर्देशन
वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
खेलकुद मन्त्रालयले माग्यो दशरथ रंगशालाको मापदण्ड पूरा गर्न कमी रहेका संरचनाको विवरण

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघका प्रतिनिधि बेलाएर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको विषयमा छलफल गर्नुभएको छ । आज एन्फा महासचिव किरण राई, अध्यक्ष पंकज विक्रम नेम्बाङ र मन्त्री श्रेष्ठबीच मन्त्रालयमा दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुमेको र फेरि मान्यता दिलाउने सन्दर्भमा छलफल भएको हो ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आगामी जेठ २४ गते दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत यूएईसँग खेल्ने तालिका छ । त्यसका लागि एएफसीका म्याच कमिस्नर सुब्रतले यही वैशाख १९ र २० गते रंगशाला र अभ्यास मैदानको निरीक्षण गरेका थिए । उनले बुझाएको रिपोर्टमा रंगशालाको पिच पहिलेभन्दा राम्रो भए पनि यूएईसँगको खेलका लागि योग्य नभएको उल्लेख छ ।

यस्तै फ्लडलाइट मापदन्ड अनुसार नभएको, एन्फाले सेफ्टी सर्टिफिकेट र इभ्याक्युएसन प्लान एएफसीलाई नबुझाएको एएफसीको रिपोर्टमा छ । एएफसीले एन्फालाई युएईसँगको खेलको लागि वैशाख २८ गतेभित्र न्युट्रल भेन्यू प्रस्ताव गर्न निर्देशन दिएको छ ।

मन्त्री र एन्फा प्रतिनिधिको टोलीले आजै रंगशालाको निरीक्षणसमेत गरेको छ । रंगशालाको मापदण्ड पूरा गर्न थप काम गर्ने मन्त्रीले बताउनु भएको छ । मन्त्री श्रेष्ठले रंगशालाको फ्लडलाइट, मैदान र सुरक्षा संयन्त्रको बारेमा काम बढाउने बताउनु भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.