भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान सम्पन्न

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान सम्पन्न

काठमाडौं । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान सम्पन्न भएको छ । १० राज्य र २ केन्द्रशासित प्रदेश गरी १२ प्रदेशका ९३ सिटका लागि आज मतदान भएको हो । स्थानीय समयअनुसार आज बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो ।

आज गुजरातका २६ लोकसभा सिटमध्ये २५ सिटमा पनि मतदान भएको छ । जसमध्ये गुजरातको सुरत सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

सबै राज्यमा गरी औसतमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । गुजरातको अहमदाबादका मतदाता प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान साढे सात बजे गुजरातको अहमदाबादस्थित निशान उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् । मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसपटक गुजरातमा नयाँ रेकर्ड कायम गर्न सम्पूर्ण गुजरातवासीलाई भनेका छन् ।

मोदीले मतदान गरिरहेका बेला केन्द्रीय गृहमन्त्री अमित शाह पनि उपस्थित थिए । अमित शाह गान्धीनगरबाट भाजपाका उम्मेदवार छन् । उनले पनि गान्धीनगरको नरानपुरा मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै अहमदाबादबाट उद्योगपति गौतम अडानी र कर्नाटकबाट कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले मतदान गरे ।

आज हुने भनिएको केन्द्रशासित प्रदेश जम्मु कश्मीरको अनन्तनाग-रजौरी निर्वाचन क्षेत्रको मतदान भने प्रतिकूल मौसमका कारण स्थगित गरिएको छ । त्यहाँ यही मे २५ मा मतदान हुनेछ । आज मतदान भएका ९३ निर्वाचन क्षेत्रमध्ये अधिकांश बीजेपीको पकड भएका क्षेत्र हुन् । २०१९ मा भएको लोकसभा निर्वाचनमा आज मतदान भएका ९३ मध्ये भाजपाले ७२ सिट जितेको थियो ।

तेस्रो चरणअन्तर्गत आजको चुनावमा ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा थिए । आज असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २६ मध्य २५ , कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान सम्पन्न भएको हो । यस्तै जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेशका गरी तीन सिटका लागि पनि आजै मतदान भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.