इंग्ल्यान्ड सी सँगको मैत्रीपूर्ण खेलमा नेपाल २-शून्य गोलले पराजित

विश्वकप छनोटअन्तर्गत जेठ २४ मा यूएईसँग खेल्ने
मैदान भने अनिश्चित
वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्ल्यान्ड सी सँगको मैत्रीपूर्ण खेलमा नेपाल २-शून्य गोलले पराजित

काठमाडौं । इङ्ल्यान्ड 'सी' सँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ ।

फिफा विश्वकप र एएफसी एसिया कपको छनोटअन्तर्गत दोस्रो चरणका बाँकी दुई खेलको तयारीमा रहेको नेपाल गएराति सम्पन्न खेलमा इङ्ल्यान्ड 'सी' सँग २-० गोल अन्तरले पराजित भएको हो ।

ईबीबी रंगशालामा इङ्ल्यान्ड 'सी' लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे । इङ्ल्यान्ड 'सी' ले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको आठौं मिनेटमा ओली हारफिल्डको क्रसमा हेडमार्फत गोल गर्दै इङ्ल्यान्ड सी लाई सुरुवाती अग्रता दिलाए । 

त्यसको पाँच मिनेटपछि नेपालका गोलरक्षक तथा कप्तान किरण लिम्बूले कर्नरबाट आएको बललाई पन्च गर्दै क्लियर गर्ने प्रयास गर्दा प्राप्त बलमा स्टेडले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा नेपाल २-० ले पराजित हुन पुग्यो ।

फिफा विश्वकप र एएफसी एसिया कपको छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि नेपालको सिनियर टोली इङ्ल्यान्ड भ्रमणमा गएको थियो । यसअघि नेपालले शुक्रबार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहितमा सकिएको थियो ।

छनोटअन्तर्गतका सुरुवाती ४ खेल गुमाइसकेको नेपालको विश्वकप पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेपालले  अब जेठ २४ गते घरेलु मैदानमा यूएईविरुद्ध खेल्ने तालिका छ । तर एसियाली फुटबल महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अयोग्य भएको र अन्तर्राष्ट्रिय मान्यतासमेत दिन नसकिने प्रतिवेदन सार्वजनिक गरेपछि  नेपालले यो खेल पनि घरेलु मैदानमा खेल्न नपाउने सम्भावना उच्च बनेको छ । 

खराब मैदानकै कारण यसअघि नेपालले बहराइनविरुद्धको घरेलु खेल पनि विदेशी भूमिमा खेल्नु परेको थियो । छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २९ गते यमनविरुद्ध यमनको अहमद बिन अली रंगशालामा खेल्ने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.