राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साबिक विजेता न्यू-डायमन्ड र एपीएफ क्लबको विजयी सुरुवात

आर्मी र पुलिस समान चार सेटमा पराजित
वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साबिक विजेता न्यू-डायमन्ड र एपीएफ क्लबको विजयी सुरुवात

काठमाडौं । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा साबिक विजेता न्यू-डायमन्ड र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई चार सेटमा पराजित गरेको हो । 

मुख्य स्ट्राइकर उषा भण्डारी बिनाकोर्टमा उत्रिएको पुलिसले पहिलो सेटमा पछि परेको थियो । एपीएफले २५-२१ ले सेट जित्दै एक शून्यको अग्रता लिएको हो । दोस्रो सेटमा भने पुलिस खेलमा फर्कियो । ६ अंकको अग्रता लिएको एपीएफविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको पुलिसले २५-२२ को जीत हात पारेको थियो । तर तेस्रो सेटमा भने सोही लयलाई निरन्तरता दिन नसक्दा एपीएफ हाबी भयो । 

यो सेट एपीएफले २५-१७ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो । उसले चौथो सेट सहजै २५-१६ ले जितेको थियो । जीतसँगै एपीएफले तीन अंक जोड्यो । न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई चार सेटमानै हराएको हो । न्यु डायमन्डले आर्मीलाई २५-१२, २५-१५, १७-२५, २५-२१ को जीत हात पारेको हो । 

न्यू-डामयन्ड साबिक विजेता र एपीएफ उपविजेता हुन् । प्रतियोगितामा चार टिमको सहभागिता छ । राउन्ड रोविन लिगको आधारमा हुने खेलको शीर्ष दुइ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.