आईपीएलमा बैंगलुरुको लगातार तेस्रो जित

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा बैंगलुरुको लगातार तेस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार तेस्रो जित हात पारेको छ । बैंगलुरुले यस सिजनको ५२ औं खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गरेको हो । यो जितसँगै बैंगलोरले प्लेअफको सम्भावना जीवितै राखेको छ । एम चिन्नास्वामी स्टेडियममा गए राति भएको खेलमा बैंगलुरुले टस जितेर बलिङ रोजेको थियो ।

सुरुवाती ब्याटिङ गरेको गुजरातले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । गुजरातका राहुल तेवाटिया ३५ रन, डेभिड मिलर ३० रन र शाहरुख खान ३७ रन बनाएर आउट भए । राशिद खानले १८ रनको योगदान दिए । बैंगलुरुका मोहम्मद सिराज, विजयकुमार र यश दयालले समान २-२ विकेट लिए ।

जवाफमा बैंगलुरुले १ सय ४८ रनको लक्ष्य ६ विकेट गुमाएर ३८ बल अगावै पूरा गर्‍यो । लक्ष्य भेटाउन बैंगलुरुका कप्तान फाफ डु प्लेसिसले विराट कोहलीसँग ३५ बलमा ९२ रनको आपनिङ साझेदारी गरे । फाफले २३ बलमा ६४ रन बनाए । विराट ४२ रनमा आउट भए । दिनेश कार्तिक र स्वप्निल सिंहले १८ बलमा ३५ रनको साझेदारी गर्दै टोलीलाई ४ विकेटको जित दिलाएका थिए । कार्तिक २१ र स्वप्निल १५ रनमा अविजित रहे । गुजरातका जोशुआ लिटिलले ४ विकेट लिए ।

जितसँगै बैंगलुरु लिगको पुछारबाट माथि उक्लिएर ७ औं स्थानमा पुगेको छ । ११ खेलमा ८ अंक जोडेको उसले प्ले अफको सम्भावनालाई समेत जीवितै राखेको छ । गुजरात ११ खेलमा ८ अंकसहित नवौं स्थानमा छ । आईपीएलमा आज पञ्जाब किंग्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.