वेस्ट इन्डिज ‘ए’ सँगको पाँचौं टी-ट्वेन्टीमा नेपाल ६ विकेटले विजयी

आसिफ र अनिलको अर्धशतक
वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिज ‘ए’ सँगको पाँचौं टी-ट्वेन्टीमा नेपाल ६ विकेटले विजयी

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-ट्वेन्टी सिरिजको पाँचौं खेलमा नेपाल विजयी भएको छ । त्रिवि मैदानमा आज सम्पन्न सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । यसअघिका तीन खेलमा पराजित भएर सिरिज गुमाएको नेपालले ३-२ को नतिजाका साथ सिरिज समाप्त गरेको छ ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । सिरिजमा दोस्रो मौका पाए सागर ढकालले वेस्ट इन्डिजको महत्त्वपूर्ण तीन विकेट लिए । उनले कदिम अलेयन, जनसन चार्ल्स र मार्क दयाललाई आउट गराएका हुन् ।

६ बलमा ११ रन बनाएर कदिम आउट भएका थिए । त्यसैगरी, जनसनले पनि २४ रनको योगदान दिए । मार्क दयाल आठौं ओभरमा आउट भए । उनले १९ बलमा ११ रन मात्र बनाएका थिए ।

सुरुआतका तीन ब्याटर गुमाउँदा वेस्ट इन्डिजले ६० रन बनाएको थियो । अविनाश बोहोराले पनि एक विकेट लिए । अविनाशले कप्तान रोस्टन चेजलाई सन्दीप जोराको हातबाट क्याचआउट गराए । सोमपालले आक्रामक ब्याटिङ गरिरहेका माथिउ फार्डेलाई २३ रनमा पभेलियन पठाए । सोमपालले नै थप २ विकेट आफ्नो नाममा गरे ।

जवाफमा नेपालले सम्हालिएर खेल्न सक्यो । नेपालले ७ बल बाँकी छँदै ४ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर कुशल भुर्तेल नौ बलमा १३ रन बनाएर आउट भए । अनिल साह र आसिफ सेखले ९६ रनको साझेदारी गरेका थिए । १३ ओभर तीन बलमा आसिफ सेख ५१ रन बनाएर आउट भए । उनी आउट हुँदा नेपालले एक सय नौ रन बनाइसकेको थियो ।

नेपालका लागि अनिल साहले पनि अर्धशतक प्रहार गरे । अनिलले ४५ बलमा ५८ रन प्रहार गरे । तेस्रो विकेट गुमाउँदा नेपालले १५१ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि ओबेड मकोयले मात्र ३ विकेट लिएका थिए । १८ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरी पाँच रनमै आउट भए । उनी आउट हुँदा नेपालले दुई ओभरमा २२ रन बनाउन आवश्यक थियो । कुशल मल्लले सानदार फिनिसिङ गरेपछि नेपालले लक्ष्य पूरा गरेको हो । कुशलले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । समग्रमा उनले १८ बलमा ३७ रन जोडे । वेस्ट इन्डिजका माथिउ फार्डेको नाममा तीन विकेट रहृयो ।

आजको खेलमा गुल्सन झा र ललितनारायण राजवंशीले आराम पाएका थिए । जारी सिरिजमा उनीहरुले यसअघि नै चार खेल खेलिसकेका छन् । अघिल्लो खेलमा टिममा नरहेका करण केसी र कमलसिंह ऐरी आज पनि टिममा थिएनन् ।

वेस्ट इन्डिजको टिममा पनि तीन परिवर्तन भएका थिए । रोहितले सिरिजमा सबैभन्दा धेरै रन बनाए । तीन खेल खेलेका रोहितको ब्याटबाट २६५ रन बनेको थियो । नेपाली टिम टी-ट्वेन्टी विश्वकप खेल्न आजै राति अमेरिका जाँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.