गर्मीमा सातु मोह !

वैशाख २३, २०८१ |अनिल मिश्र
गर्मीमा सातु मोह !

जनकपुर । गर्मी बढेसँगै तराईका जिल्लामा चनाको सातुको बिक्री बढेको छ । स्वास्थ्यका लागि अनुकूल भएकाले यो उखरमाउलो गर्मीमा यहाँका बासिन्दा सातु सेवनमा आकर्षित भएका छन् । त्यसैले अचेल खाली पेटमा बिहान सातु सेवन गर्नेको जमात बढेको छ ।

तराईमा गर्मीको प्रकोप उत्कर्षमा छ । यो बेला मानिसहरु शरीर शीतल बनाउने खानेकुराको खोजीमा छन् । त्यसको उत्तम विकल्प बनेको छ चनाको सातु । त्यसैले त बिहान खाली पेटमा सातु सेवन गर्नेहरु बढिरहेका छन् । सातुको नियमित सेवनले ग्यास्ट्रिक, कब्जियत, अम्लपितलगायत पेटसम्बन्धी बिकार निको हुने मान्यता रहेको जनकपुरका नीतिशकुमार गुप्ता बताउनुहुन्छ ।

घैंटाको चिसो पानी, कागती, बिरेनुन, ज्वानो र जिराको धुलोको मिश्रणले स्वादिष्ट लाग्ने चनाको सातु तराईका गाउँ, सहर, चोक-चौराहा र हाटबजार जताततै पाइन्छ ।

चनाको सातुको बिक्रीले मधेश प्रदेशको राजधानी जनकपुरमा धेरैको रोजीरोटीमा भरथेगसमेत गरेको छ । थौरै लगानीमा राम्रो आम्दानी हुने गरेकाले यसको बिक्रीमा जनकपुर क्षेत्रमा मात्रै सयजना जति लागेका छन् । दिनमा एक हजारदेखि दुई हजार रुपैयाँ सम्मको कारोबार हुने गरेको सातु विक्रेता बताउँछन् ।

‘बिहान ६ देखि १० बजेसम्म सातु र दिउँसो चना र भुजा बेच्ने गर्छु,’ व्यवसायी अर्जुन राउतले भन्नुभयो, ‘घरपरिवार चलाउन सजिलो भएको छ। दैनिक ५ हजार रुपैयाँको कारोबार हुन्छ ।’

स्वादका लागि कतिपयले सातुमा प्याज र हरियो खुर्सानी पनि मिसाएर खाने गर्छन् । २५० रुपैयाँ प्रतिकिलो पाइने चनाको सातुमा विभिन्न समिश्रण हालेर सर्वत बनाएर बेच्दा एक गिलासको ३० रुपैयाँ पर्छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।