काठमाडौं । एसियाली च्याम्पियन्स लिगमा गएराति भएको खेलमा अल हिलालसँग पराजित भए पनि अल अइन् फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलमा यूएईको अल अइनले २-१ गोलको हार बेहोरेको थियो।
साउदी अरेबियाको अल हिलालले आफ्नो घरेलु मैदान किङ्डम एरिनामा नै एल अइनलाई २-१ गोलले हराएको थियो। तर दुई लेगको खेलमा अघिल्लो जितको आधारमा अल अइन् फाइनल प्रवेश गरेको हो। अघिल्लो लेगको खेलमा अल अइनले हिलालाई ४-२ गोलअन्तरले हराएको थियो। त्यसैले हिजो २-१ ले पराजित भए पनि समग्रमा ५-४ ले अघि रहँदै उसले फाइनलमा स्थान बनाएको हो। गएरातिको जितका बाबजुद पनि हिलाल भने फाइनल पुग्न असफल भएको छ।
ब्राजिल र उरुग्वेबीचको खेलमा चोट लागेका हिलालका फरवार्ड नेइमार पनि गएरातिको सेमिफाइनल हेर्न मैदान पुगेका थिए। आज हुने दोस्रो सेमिफाइनलमा योकोहामा एफसीले उल्सनको सामना गर्नेछ। यो खेल दिउँसो पौने ४ बजे निसान रंगशाला जापानमा हुनेछ।