अझै टरेन मजुवाखोलाको जोखिम

वैशाख ६, २०८१ |शमशेरविक्रम जीसी
अझै टरेन मजुवाखोलाको जोखिम

प्युठान । गएको वर्ष साउनमा आएको बाढीले क्षति पुर्‍याएको प्युठान नगरपालिकाको बुढदेवी र मजुवाका बासिन्दा अहिले पनि त्रसित छन् । यसपालि पनि बर्खा सुरु हुन लागेकाले उनीहरु थप चिन्तामा परेका हुन् ।

अघिल्लो वर्ष साउनमा मल्लरानी, चुँजा-सोलहाल्ना सडक निर्माण गर्दा फालिएको माटोसहितको लेदो बग्दा प्युठान नगरपालिकाको बुढदेवी र मजुवामा पुगेको क्षति तीनै तहका जनप्रतिनिधिले देखेका थिए तर समाधानका लागि कतैबाट पनि पहल भएको छैन ।

गत साउन ५ गते आएको बाढीले प्युठान नगरपालिकाको बुढदेवी बजारका आधा दर्जन घरमा क्षति पुर्‍याएको थियो । शान्त खोलाले बाढीको रुप लिँदा बस्तीमै पसेको मजुवाखोलाको जोखिम अहिले पनि टरेको छैन् । सडक निर्माण गर्दा फालिएको माटो बर्खाको पानीसँगै बगेर आउँदा मुजवाखोलाले भेलको रुप लिएको थियो ।

जसले यहाँका बासिन्दालाई गत बर्खाभर घरबारविहीन बनायो । मल्लरानी, चुँजा-सोलहाल्ना सडक निर्माण गर्दा फालिएको माटो बर्खाको पानीसँगै बग्दा स्थानिय एक विद्यार्थीले ज्यान गुमाए, स्थानीयको करिब ३५ लाख रुपैयाँबराबरको भौतिक क्षति भयो । अहिले अर्को बर्खा सुरु हुने समय भइसक्दासमेत मुजुवाखोला व्यवस्थित बनाउने पहल सुरु नभएको बुढदेवी प्युठानका राधा महतराको गुनासो छ ।

प्युठान नगरपालिका ९ र १० वडाका बजुवा, बुढदेवीलगायत बस्तीमा बाढीले क्षति पुर्‍याएको थियो । बाढीले क्षति पुर्‍यााएको क्षेत्रमा तत्कालीन समयमा दैनिकजसो नेता, जनप्रतिनिधि पुग्ने गरे पनि अहिलेसम्म बाढी आएको खोला नियन्त्रण गर्न पहल भने कतैबाट नभएको अर्का स्थानीय सूर्यबहादुर केसीको भनाइ छ ।

सडक निर्माण गर्दा सम्भावित जोखिमलाई ख्यालै नगर्दा अहिलेको अवस्था आएको स्थानीय बताउँछन् । स्थानीय तहले पनि विकास निर्माणका गतिविधि गर्दा वातावरणीय प्रभाव मूल्यांकनको बेवास्त गर्छन् ।

मजुवाखोला थुनिँदा मजुवा बजार डुबानमा परेको थियो भने बुढदेवीका पनि स्थानीयका घरमा दुई फिटसम्म माटोसहितको लेदोले भरिएको थियो ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement