मुस्ताङ । जोमसोम-मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलबार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ ।
काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश-३-०१-००६ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बसमा चालकसहित ३० जना विद्यार्थी सवार थिए । बस दुर्घटनामा २१ जना घाइते भएका छन् । १४ जना पुरुष र ७ जना महिला घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेसहित कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीहरु दुर्घटना स्थलमा पुगेका थिए ।
दुर्घटना स्थलमा स्थानीय निकायका जनप्रतिनिधि र स्थानीयवासी समेत उद्धारमा खटिएका थिए । दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पुर्याइएको छ । प्रहरी नायव उपरीक्षक पाण्डेले घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भइरहेको जानकारी दिनुभयो ।
मुक्तिनाथबाट फर्किएको विद्यार्थी सवार बस ब्रेकफेल भई कागबेनीमाथिको मुक्तिनाथ सडकको भिरालो सतहमा सडकमा पल्टिन पुगेको थियो । बस सडकको बीचमा पल्टिएपछि करिव ३ घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो ।