प्यालेस्टिनीको पक्षमा अमेरिकी विश्वविद्यालयहरुमा निरन्तर प्रदर्शन, फ्रान्समा पनि जागे विद्यार्थी

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्यालेस्टिनीको पक्षमा अमेरिकी विश्वविद्यालयहरुमा निरन्तर प्रदर्शन, फ्रान्समा पनि जागे विद्यार्थी

काठमाडौं । अमेरिकाका विश्वविद्यालयहरुमा प्यालेष्टिनीहरुको पक्षमा प्रदर्शन गर्ने क्रम बढदै गइरहेका बेला यसको लहर फ्रान्सका विश्वविद्यालयसम्म पनि फैलिन थालेको छ ।

इजरायलले गाजामा युद्धबिराम गर्नुपर्ने र विश्वविद्यालयहरुले इजरायलसँगको सबै सहयोग बन्द गर्नुपर्ने माग राख्दै दुई साताभन्दा अघिदेखि प्रदर्शन शुरु भएको हो । शुरुमा केही विश्वविद्यालयमा सीमित रहेको विरोध प्रदर्शन फैलिएको हो ।

यसैबीच, इजरायलविरोधी प्रदर्शनको केन्द्रविन्दुका रुपमा रहेको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले क्याम्पस हातामा खडा गरिएका विरोध शिविर नहटाएका कारण विद्यार्थीहरुलाई निलम्बन गर्न थालेको समाचारमा जनाइएको छ ।

अधिकारीहरुले निलम्बनको निर्णय गरिरहँदा कोलम्बिया विश्वविद्यालयका दर्जनौं विद्यार्थीले मंगलबार क्याम्पस हाताभित्र रहेको एउटा भवनभित्र बलपूर्वक प्रवेश गरेर हेमिल्टन हल कब्जामा लिएका छन् । प्रदर्शनकारीले उक्त हललाई "हिन्द हल" नामकरण गर्दै आफूलाई त्यहाँभित्र बन्द गरेको जनाइएको छ । इजरायलले गाजामा गरेको आक्रमणका क्रममा मारिएका ६ वर्षीय बालक हिन्द रजाबको नाममा सो हलको नामकरण गरिएको उनीहरुले जनाएका छन् ।

सोमवार टेक्ससको अस्टिनस्थित यूनिभर्सिटी अफ टेक्ससमा राखिएका विरोध शिविर प्रहरीले हटाएको थियो भने दर्जनौं प्रदर्शनकारीलाई गिरफतार गरेको थियो । अमेरिकाका कम्तिमा २२ राज्य र वासिङ्गटन डीसीमा विरोध प्रदर्शन तथा क्याम्पस हाताभित्र शिविर बनाइएको बीबीसीले जनाएको छ ।

अमेरिकामा जारी विद्यार्थीको विरोध प्रदर्शनबाट प्रेरित भएर फ्रान्सको "साइन्सेज पो" यूनिभर्सिटी र "सोरबोन युनिभर्सिटी"मा गाजा युद्धको विरोधमा प्रदर्शन भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.