विश्वकप टिमविरुद्ध खेल्न नेपाल उत्साही !

वेस्ट इन्डिज ‘ए’ विरुद्ध ५ टी-ट्वेन्टी सिरिजका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
पहिलो खेल शनिबार
वैशाख १३, २०८१ |खेल ब्युरो
विश्वकप टिमविरुद्ध खेल्न नेपाल उत्साही !

काठमाडौं । नेपालविरुद्ध पाँच खेलको टी-ट्वेन्टी सिरिज खेल्ने वेस्टइन्डिजको ‘ए’ टोली अहिले काठमाडौंमा छ । वेस्टइन्डिजको ‘ए’ हालसम्म नेपाल भ्रमणमा आएको सबैभन्दा बलियो टोलीसमेत हो । दुई पटकको एक दिवसीय र टी-२० विश्वकप च्याम्पियन वेस्टइन्डिज टी-२० क्रिकेटमा विश्वकै बलियो मध्येको एक टोली हो । नेपाल भ्रमणमा आएको क्यारेवियन टोलीमा विश्वक्रिकेटमा आफ्नो विशेष प्रभाव पार्न सफल खेलाडी सहभागी छन् ।

दुई पटक एक दिवसीय र दुई पटक नै टी-ट्वेन्टी विश्वकप जितेको वेस्टइन्डिजको ‘ए’ टोली हाल नेपालमा छ । क्यारेवियन टोली पहिलो पटक नेपाल आएको हो । यो नेपाल भ्रमण गर्ने सबैभन्दा बलियो टोली हो । यसअघि नेपाल भ्रमणमा आएका जिम्बाब्वे र आयरल्यान्ड ए भन्दा वेस्टइन्डिजको ‘ए’ टोलीको स्तर नै फरक छ ।

अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा रहेको टोलीले नेपालसँग पाँच टी-२० खेल्ने छ । चेसले वेस्ट इन्डिजका लागि ४९ टेस्ट ४५ ओडीआई र ११ टी-२० आई खेलिसकेका छन् ।

वेस्टइन्डिजले सन् २०१६ मा टी-२० विश्वकप जित्दा टिममा सामेल जोनसन चार्ल्स र ओबेद म्याककोय जस्ता स्टार ब्याटर नेपाल भ्रमणमा आएको टोलीमा सामेल छन् । चार्ल्सले वेस्टइन्डिजका लागि २०१२ मा पनि विश्वकप खेलेका थिए । यी दुवै संस्करणमा वेस्टइन्डिजलाई उपाधि दिलाउन उनको प्रदर्शन महत्त्वपूर्ण थियो । २०१६ को विश्वकपमा उनकै प्रेरणामा वेस्टइन्डिजले सेमिफाइनलमा भारतलाई ७ विकेटले पराजित गरेको थियो । सो खेलमा चार्ल्सले ५२ रन बनाएका थिए । २०१२ को विश्वकपमा इंग्ल्यान्डलाई हराउन ८४ रन बनाएका उनी प्लेयर अफ द म्याचसमेत चुनिएका थिए ।

श्रीलंकाविरुद्धको फाइनलमा भने उनको ब्याट चल्न सकेको थिएन । गत वर्ष उनले दक्षिण अफ्रिकाविरुद्ध ४६ बलमा १ सय १८ रनको सानदार शतक प्रहार गरेका थिए । जुन उनको करियरको पहिलो टी-२० आई शतक थियो ।

यस्तै राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका फास्ट बलर ओबेद म्याककोय पनि टिममा छन् । वेस्टइन्डिजका प्रमुख बलर मध्येका एक म्याककोयविरुद्ध नेपाली ब्याटरलाई सहज हुने छैन । बायाँ हाते पेशरले गत वर्ष भारतविरुद्ध ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिएका थिए । जुन भारतविरुद्ध टी-२० आईमा कुनै पनि बलरको कीर्तिमानी स्पेल हो । यसबाहेक यो ट्वेन्टी-२० आईमा वेस्ट इन्डिजका लागि उत्कृष्ट बलिङ फिगर पनि हो ।

नेपाल भ्रमणमा आएका ओशेन थोमस पनि हेभीवेट खेलाडी हुन् । आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका उनीसँग विश्व भरका क्रिकेट लिग खेलेको अनुभव छ । चोटका कारण नियमित रूपमा टिममा सामेल हुन नसके पनि २७ वर्षीय थोमसले २५ ओडीआई र २१ टी-२० आई खेल खेलेका छन् । यसबाहेक एलिक एथानाजे, किमो पल र फबिएन एलेन पनि विश्वस्तरीय क्रिकेटर हुन् । नेपालसँग सिरिज खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीमा ३ जनाबाहेकसबै खेलाडीसाग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव छ ।

विश्वकप जितेको कुनै पनि देशको ‘ए’ टोली पहिलो पटक नेपाल आउँदा त्यसले आगामी जुनमा अमेरिका र बेस्टइन्डिजमा हुने टी-० विश्वकप अघि नेपाललाई कमजोरी सुधार्ने अन्तिम मौका प्रदान गर्ने छ । नेपाल र वेस्टइन्डिज ‘ए’ विरुद्धको सिरिज शनिबार सुरु हुने छ ।