तस्करीको आरोपमा सिरहाबाट एकजना पक्राउ

वैशाख २३, २०८१ |विनय आजाद
तस्करीको आरोपमा सिरहाबाट एकजना पक्राउ

सिरहा । प्रहरीले सिरहाबाट एक जनालाई तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने सिरहा माडरका नरेश साह हुन् । साहलाई अवैध धन्दा र खासगरी तस्करीजन्य धन्दामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका डीएसपी प्रतीक विष्टको टोलीले उनलाई शनिबार साँझ सिरहाबाटै पक्राउ गरेको हो । सिरहाबाट पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ ।

प्रहरी टोलीले उनलाई मिर्चैयास्थित प्रहरी कार्यालयमा राखी मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बताएको छ । केन्द्रको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।