सदनको गतिरोध : दलहरुबीच छलफल, जुटेन सहमति

वैशाख २५, २०८१ |दीपक आचार्य
सदनको गतिरोध : दलहरुबीच छलफल, जुटेन सहमति

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ गते सुरु हुँदै छ । सदनको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुबीच छलफल भए पनि सहमति अझै जुटेको छैन । तैपनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रक्रियामा भने काम भइरहेकै छ । अर्थतन्त्र शिथिल बनेको तर बजेटमा सम्बोधन गर्नुपर्ने विषय बढ्दै जाँदा सांसदहरुका प्राथमिकता के छन् त ?

वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरु हुन लाग्दा यसपालि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले किसान केन्द्रित मल-बिउदेखि सहकारी ठगीका विषय उठाउने तयारीमा छन् । गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आएको कांग्रेसका सांसदले पकेट क्षेत्रगत उत्पादनबारे पनि सदनमा बोल्ने योजना बनाएको सचेतक सुशीला थिङको भनाइ छ ।

सत्तारुढ दलका सांसदहरुको प्राथमिकता पनि बजेट अधिवेशनमा सुशासनदेखि कृषिकै विषय छ । नीति तथा कार्यक्रम र बजेटबारे पनि सांसदहरुले सदनमा कुरा राख्ने छन् ।

रसियामा रहेका नेपाली फिर्ताको विषय पुनः सदनमा उठाउनेदेखि अर्थतन्त्रलाई उकास्ने सम्मका सरकारलाई जवाफदेही बनाउनुपर्ने विषय पनि सांसदले उठाउने तयारी गरेका छन् ।

संसद्‌को मुख्य काम सरकार बनाउने, कानुन निर्माण गर्ने र सरकारका काम कारबाहीको निगरानी गर्दै जनसरोकारका सवालमा ध्यानाकर्षण गर्नु नै हो ।

आ-आफ्नो निर्वाचन क्षेत्रलक्षित विकास र योजनाका विषय समेटेर सांसदहरुले दर्जनौं प्रश्न सरकारसँग सोध्ने तयारी गरेका छन् । सधैंजसो प्रश्नबाट पन्छिँदै आएको सरकारले सांसदहरुका प्रश्न र विषयलाई कार्यान्वयनमा लैजानेमा भने ढुक्क हुने स्थिति छैन ।

यो पनि...

सदन चलाउन सभामुखको पहल- ‘हातमा लाग्यो शून्य’

दलहरुको हठले संसद चल्ने/नचल्ने अन्योल

गृहमन्त्री रवि लामिछानेको माग- सदनमा बोल्न पाउँ

सदनको गतिरोध हटाउने विषयमा सभामुख र पाँच दलका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहीन

गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने कांग्रेसको अडान कायमै


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।