काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेकी अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज मनोनीत गरेका हुन् ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।