सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि बढाउने एकीकृत समाजवादीको निर्णय

आधा-आधा कार्यकाल मुख्यमन्त्री चलाउने सहमति भएको नागरिक उन्मुक्ति पार्टीको दाबी
वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि बढाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरेको छ । आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो ।

पार्टीले आज औपचारिक निर्णय गरेपछि एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । गठबन्धनमा आबद्ध दलहरुको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

शीर्ष नेतृत्व तहमा हिजो भएको छलफलपछि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसलगत्तै प्रदेश प्रमुख नजिर मियाँले यसअघि परेका दुवै दाबी खारेज गर्दै मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले भोलिसम्मको समय दिए पनि गठबन्धनले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गर्ने तयारी छ ।

दलहरुको संयुक्त बैठक बस्ने र त्यसपछि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय जाने एक सांसदले जानकारी दिए । अहिले दलहरु आन्तरिक छलफलमै छन् । तर, नागरिक उन्मुक्ति पार्टीका सांसदहरु भने विभाजित छन् ।

अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी पक्षका सांसदहरु मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भए पनि संरक्षक रेशमलाल चौधरी पक्षका सांसद भने लक्ष्मणकिशोर चौधरीलाई नै मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement