काठमाडौं । व्यावसायिक बक्सिङ करिअरबाट सन्यास लिएको झन्डै २० वर्षपछि माइक टाइसनले प्रोफेसनल बक्सिङमा भाग लिने भएका छन् । टाइसनले जेक पलसँग खेल्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आगामी जुलाई २० मा हुने फाइटका लागि अन्तर्राष्ट्रिय बक्सिङले मान्यता प्रदान गरिसकेको छ । यता जेक पलले भने अहिलेसम्म १० व्यावसायिक फाइट मात्र खेलेका छन् । यो खेलभन्दा तीन हप्ताअघि टाइसन ५८ वर्ष पूरा हुनेछन् । यता पल भने बक्सरसँगै युट्युबर पनि हुन् । टाइसनले चार वर्षअघि सन् २०२० मा एउटा प्रदर्शनी खेल खेलेका थिए ।
उनले विश्व वक्सिङ संघ, विश्व बक्सिङ काउन्सिल र अन्तर्राष्ट्रिय बक्सिङ संगठनको हेभिवेटतर्फ उपाधि जितेका छन् । यी उपाधि उनले सन् १९८७ मा जितेका थिए । सन् १९९६ मा पनि दुई उपाधि जितेका थिए । त्यसपछि भने उनी लगातार पराजित भए । टाइसनले सन् २००५ मा व्यावसायिक बक्सिङबाट सन्यास लिएका थिए ।