'स्टिङ अपरेसन'का नाममा भ्रामक र झुटो कुरा प्रसारित भयो : न्यायाधीश आनन्दमोहन भट्टराई

भ्रामक सामग्री हटाई २४ घण्टाभित्र जवाफ दिन प्रेस काउन्सिलको पत्र
वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
'स्टिङ अपरेसन'का नाममा भ्रामक र झुटो कुरा प्रसारित भयो : न्यायाधीश आनन्दमोहन भट्टराई

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर प्रसारित सामग्रीप्रति आपत्ति जनाउनुभएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै न्यायाधीश भट्टराईले आफू संलग्न हुँदै नभएको विषयमा आफ्नो नाम जोडेर जनतामा भ्रम छर्ने कुत्सीत मनसायले सामाजिक सञ्जालमा भ्रामक, आधारहिन र झुटो कुरा प्रसारित भएको भन्दै भत्सर्ना गर्नुभएको छ ।

विज्ञप्तिमा भट्टराईले अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा कसैलाई पनि नभेटेको र स्टिङ अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् आफूसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा आफ्नो न्यायिक धारणासमेत व्यक्त गरेको प्रष्ट पार्नुभएको छ ।

यसैगरी, प्रेस काउन्सिल नेपालले अडियोसहितको सामग्री हटाई जवाफ पेश गर्न उक्त अनलाइनलाई पत्र काटेको छ । शुक्रबार नै काउन्सिलले तथ्यगत प्रमाणबिनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा प्रतिष्ठामा आँच आउने गरी समाचार सामग्री प्रसारण गर्नु आचारसंहिताको गम्भीर उल्लंघन र प्रेस स्वतन्त्रताको चरम दुरूपयोग हुने भन्दै समाचार सामग्री हटाई २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन पत्र काटेको हो ।

४ सयभन्दा बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशनका सम्बन्धमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाबाट उजुरी दर्ता गरिएपछि जवाफका लागि काउन्सिलले पत्राचार गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.