सिरहाको शारदा डिस्टिलरी प्रकरण : संलग्नमाथि अनुसन्धान न कारबाही

चैत्र १६, २०८० |विनय आजाद
सिरहाको शारदा डिस्टिलरी प्रकरण : संलग्नमाथि अनुसन्धान न कारबाही

सिरहा । सिरहाको गोलबजार नगरपालिका ९ को शारदा डिस्टिलरी उद्योगले राजस्व छलीका अवैध मदिरा भण्डारण गर्ने माडरस्थित आशिष जनरल स्टोरलाई आन्तरिक राजस्व कार्यालयले सिल गरेको छ । राजस्वको स्टिकर च्यातेर अवैध मदिरा भारतसम्म तस्करी हुँदै आएको विषयमा कान्तिपुर टेलिभिजनले गत चैत ४ गते खोजमूलक विशेष सामग्री प्रसारण गरेको थियो । त्यसपछि सरकारी निकायले चासो लिएको जस्तो देखाए पनि यसमा संलग्नहरुलाई अनुसन्धानको दायरमा ल्याउने या कारबाहीको प्रक्रिया अघि बढाउने कुनै काम भएको छैन ।

आन्तरिक राजस्व कार्यालय, लहानको टोलीले झन्डै ३४ सय कार्टुन राजस्व छलीका अवैध मदिरा बरामद गर्यो । त्यसपछि आन्तरिक राजस्वले उद्योग र गोदामलाई सिल गरी राजस्व छलीका विषयमा उद्योगका म्यानेजर लोकबहादुर बस्नेत र गोदामका मालिक ललनकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उद्योगका मालिक प्रमोद गोयन्का र नवीन गोयन्का भने भारततर्फ भागेका छन् ।

उद्योग र गोदाम सम्बद्ध व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय लहानका कर्मचारीहरु पनि शंकाको घेरामा छन् । राजस्वका स्टिकर टाँस गर्न उद्योगमा एकजना राजस्वका कर्मचारी नै राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, कार्यालयले उद्योगलाई नै स्टिकर जिम्मा लगाइदिएको थियो । आफ्नो उपस्थितिमा टाँस गर्नुपर्ने राजस्वका स्टिकर उद्योगलाई नै जिम्मा दिनु र राजस्व छलीका विषयमा सूचना दिँदा पनि अनेक बहाना बनाएर समयमै नआउनुले यसमा उनीहरुको संलग्नतालाई थप प्रस्ट्याउँछ । तर, उनीहरुमाथि अनुसन्धान हुनु त परको कुरा, उनीहरु आफैं यो घट्नाको अनुसन्धान गरिरहेका छन् ।

घटनापछि प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल र सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई स्पष्टीकरण सोध्यो । त्यसबाहेक छानबिनको प्रक्रिया अघि बढेन ।

यति मात्र होइन, यसमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, सिरहाका सशस्त्र प्रहरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शिव गैरे, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टीकाप्रसाद पोखरेललगायत पनि शंकाको घेरामा छन् । तर, उनीहरुमाथि पनि छानबिन भएको छैन ।

यस्ता संगठित अवैध धन्दाहरुमा तलदेखि माथिसम्म मिलेमतो हुने भएकाले नाम मात्रको सोधपुछ गरेर ढाकछोप गर्ने परिपाटी हामीकहाँ रहँदै आएको छ । अहिले पनि यस विषयमा निष्पक्ष छानबिन हुन्छ कि मिलेमतोमा उन्मुक्ति दिने काम हुन्छ त्यो भने हेर्न बाँकी छ ।

यो पनि...

शारदा डिस्टिलरीका अर्का मालिक नवीन गोयन्का पनि फरार

राजस्व छली गर्ने आशिष जनरल स्टोरका मालिक यादव र शारदा डिस्टलरीका म्यानेजर बस्नेत पक्राउ

उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार

प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल

विनय आजादले लेखेका थप स्टोरीहरु :


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।