राजस्व छली गर्ने आशिष जनरल स्टोरका मालिक यादव र शारदा डिस्टलरीका म्यानेजर बस्नेत पक्राउ

शारदा डिस्टलरीका मालिक प्रमोद गोयन्का फरार
चैत्र ८, २०८० |विनय आजाद
राजस्व छली गर्ने आशिष जनरल स्टोरका मालिक यादव र शारदा डिस्टलरीका म्यानेजर बस्नेत पक्राउ

सिरहा । राजस्व छली गरेको आरोपमा आशिष जनरल स्टोरका मालिक ललनकुमार यादव र शारदा डिस्टलरीका म्यानेजर लोकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

यादव र बस्नेत राजस्व कार्यालयमा बयान दिएर फर्किएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ । राजस्व कार्यालयले भोलि (शुक्रबार) पनि बयान लिने जनाएको छ ।

‘बयान नसकिएकाले बस्नेत र यादवलाई प्रहरी नियन्त्रणमा पठाएका छौं,’ आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख पुण्य रिजालले भने, ‘शुक्रबार पनि बयान लिइनेछ । एउटा स्टिकरलाई दुई टुक्रा पारेर राजस्व छली गरेको विषय अब पुष्टि नै भइसक्यो तर कति परिमाणमा त्यो गरेका छन् । मूल्यांकन गरिरहेका छौं । बयान सकिँदासम्म राजस्व छलीको मूल्यांकनसमेत सक्छौं, त्यसपछि मुद्दाको प्रक्रिया अघि बढ्छ ।’

यसैबीच आन्तरिक राजस्व कार्यालय लहानले शारदा डिस्टलरी उद्योगमा सिलबन्दी गरेपछि मालिक प्रमोद गोयन्का भने फरार भएका छन् ।

गोलबजार नगरपालिका ९, सिरहामा रहेको शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागको एउटा स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको गत आइतबार कान्तिपुर टेलिभिजनले खुलासा गरेको थियो ।

त्यसलगत्तै आन्तरिक राजस्व कार्यालय लहानले उद्योग र माडरस्थित गोदाम सिल गरेर यस विषयमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा राजस्व कार्यालयले उनलाई बयानका लागि बोलाएकामा गोयन्का फरार भएका हुन् । आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख रिजालले गोयन्का भारततर्फ गएको जानकारी दिएका छन् । राजस्व छलीमा कारबाहीमा परिने भएपछि उनी भारत भागेको आश्का गरिएको छ ।

यो पनि...

उद्योगमा शिलबन्दी गरेपछि शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार

प्रहरीकै मिलेमतोमा मदिरा तस्करी

सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

मधेशमा भइरहेको मदिरा तस्करीमा संलग्न भेटिए प्रहरीलाई पनि कारबाही हुन्छ : प्रहरी प्रवक्ता ढकाल

विनय आजादले लेखेका थप स्टोरीहरु :


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।