कोरियन भाषा पास गरेर रोस्टरमा रहेका नेपालीले सेवा क्षेत्र परिवर्तन गर्न पाउने

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोरियन भाषा पास गरेर रोस्टरमा रहेका नेपालीले सेवा क्षेत्र परिवर्तन गर्न पाउने

काठमाडौं । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले आफ्नो सर्भिस सेक्टर (सेवा क्षेत्र) परिवर्तन गर्न सक्ने भएका छन् ।

ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो ।

सूचना अनुसार रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ सम्म रहेको छ । एचआरडी कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार पठाएको छ । शाखाका अनुसार ९ हजार ४ सय २८ जनाको नाम प्राप्त भएको छ।

सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुनेछैन । भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बारम्बार आग्रह गरेका थिए ।

कोरिया जान पर्खेर बसेका हजारौं युवा तथा सरोकारवालाहरूले नेपाल सरकारको यस प्रकारको पहलकदमी तथा कोरिया सरकारको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.