काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पुर्याएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले स्वरोजगारी र उत्पादन सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गर्नुभयो । वीर अस्पताललाई आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्था पनि सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
वीर अस्पतालको विस्तारका लागि बनाइएको दुवाकोटको १५ सय बेडसहितको गुरूयोजनामा पहिलो चरणको ५ सय बेडको अस्पताल र मेडिकल कलेजको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँको भनाइ छ ।