रुसी सेनामा गएका नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री दाहाल

वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसी सेनामा गएका नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा गएका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूसँगको भेटमा उहाँले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभयो । 

‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सरकारले लगातार कूटनीतिक पहल गरी नै रहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।’

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताउनुभयो । ‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,’ उहाँले भन्नुभयो ।

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौँमा धर्ना दिएका थिए । प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसीले उहाँहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्रीले ती परिवारका सदस्यलाई भेटेर उच्चस्तरीय पहलमार्फत युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.