राष्ट्रपति रनिङ सिल्ड आजबाट सुरु

वैशाख ४, २०८१ |खेल ब्युरो
राष्ट्रपति रनिङ सिल्ड आजबाट सुरु

काठमाडौं । १४ औं संस्करणको राष्ट्रपति रनिङ सिल्ड आज काठमाडौंमा सुरु भएको छ। आजै बेलुका राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने प्रतियोगिताको एथ्लेटिक्सका खेलहरु भने बिहानबाटै सुरु भइसकेका छन् ।

प्रतियोगिताअन्तर्गतका भलिबल, कबड्डी र एथ्लेटिक्स खेल आज सुरु भएका हुन् । आज विहान नै एथ्लेटिक्सका आठ विधाका खेल सम्पन्न भएका छन् । एथ्लेटिक्समा छात्रतर्फ मधेसका आदेशकुमार यादवले एक सय मिटरमा स्वर्ण जितेका छन्। यो विधामा बागमतीका प्रविण राना मगर दोस्रो र चन्द्र बोहरा तेस्रो भए । छात्रातर्फ सुदूरपश्चिमका रितु जोशीले स्वर्ण जितिन्। त्यसैगरी चार सय मिटर दौडमा छात्रमा रोहितकुमार गुप्ता र महिलातर्फ सरिता खड्काले स्वर्ण पदक जितेका छन् ।

गण्डकी प्रदेशका गणेश विकले कीर्तिमानी एक दशमलव ८१ मिटर उचाई जम्प गरेका छन् । उनले हाइजम्पमा नयाँ रेकर्ड बनाएका हुन् । छात्रातर्फ हाइजम्पको स्वर्ण सुदूरपश्चिमकी सुस्मिता चौधरीले जितेकी छन् । १५ सय मिटर दौडमा छात्रतर्फ बादल कार्की प्रथम हुँदा महिलातर्फ कल्पना बुढा पहिलो भइन्। बादलले चार मिनेट १९ सकेन्ड र कल्पनाले निर्धारित दुरी पाँच मिनेट ४४ सकेन्डमा पूरा गरिन् ।

रनिङ सिल्डमा देशभरका ६ सय ८६ खेलाडी सहभागी छन् । यो प्रतियोगितका लागि डेढ करोड विनियोजन गरिएको छ। ६६ स्वर्णको लागि हुने प्रतियोगिताको समापन पर्सी हुनेछ। कराते, तेक्वान्दो, उसूका प्रतियोगितामा पनि समावेश गरिएको छ। पहिलो दोस्रो र तेस्रो हुने खेलाडी तथा टिमले नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद् राखेपले जानकारी दिएको छ । त्यसैगरी टिम च्याम्पियन, उपविजेता र तेस्रो हुने टिमले पनि पुरस्कार पाउनेछ ।



Enter Kantipur TV HD
Advertisement