गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ : केपी ओली

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा सोमबार आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको हीरक महोत्सवमा अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको जनाउनुभयो । उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनुभयो । सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

‘देशमा विकासको अभियान चलाउने र जल्दाबल्दा जनताका समस्याहरु समाधान गर्ने, भूमिहीन सुकुम्बासीका समस्यादेखि लिएर, गरिबका समस्यादेखि लिएर अरु समस्या समाधान गर्ने देशको सबैभन्दा ठूलो चुनौती के हो यतिबेला भने र कलंकको विषय के हो भने २१औं शताब्दीमा पनि प्रगतिशील, लोकतान्त्रिक सरकारहरु बनिसकेपछि यस्तो उर्वर भएको जीवन्त र जीवनमय देशमा भोकमरी, गरिबीको समस्याले जनता पिल्सिनु र हामी त्यसलाई सम्बोधन गर्न असफल हुनु सबैभन्दा अशोभनीय नसुहाउने कुरा हो । त्यसकारण यसको अन्त्य गरिनुपर्छ,’ ओलीले भन्नुभयो ।

ओलीले एमालेले नाजायज ढंगले कुनै पनि खालको अडान नराख्ने जिकिरसमेत गर्नुभयो । उहाँले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्‍याउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement