साउदी प्रो लिग : अल ताउनमाथि अल हिलालको जित

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिग : अल ताउनमाथि अल हिलालको जित

काठमाडौं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । हिलालले अल ताउनमाथि ३-० गोलको सहज जित हात पारेको हो । किङ अब्दुल्लाह स्पोर्टस सिटीमा गएराति भएको खेलमा हिलालले सुरुवात देखिनै घरेलु टोली माथि दबाब बनाएको थियो ।

४० औं मिनेटमा पाहुना टोलीले अग्रता लिएको थियो । उसका लागि सर्बियन स्ट्राइकर अलेक्जान्दर मिट्रोभचिले गोल गरेका थिए । लिगमा उनको यो २३ औं गोल हो । पहिलो हाफमा १-०ले पछि परेको अल ताउन ब्रेकपछि पनि खेलमा फर्कन सकेन । ७० औं मिनेटमा साउद अब्दुल्लाहमदिले अग्रता दोब्बर पारे । इन्जुरी समयमा सलेह अल्सेरीले गोल गरेपछि हिलालले सहज जितकासाथ तीन अंक जोडेको हो ।

जारी सिजन हिलाल अपराजित छ । उसले २९ खेलमा २७ मा जित हात पार्दा दुई खेल बराबरी खेलेको छ । तालिकाको शीर्ष स्थानमा रहेको हिलालको ८३ अंक छ । चौथो स्थानको ताउनको ३० खेलबाट ५१ अंक छ । दोस्रो स्थानमा रहेको अल नासारको २९ खेलबाट ७१ अंक छ । अल आली ५५ अंकका साथ तेस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.