यी हुन् सोनिश अवाल : जो ७२ सालको भूकम्पमा २२ घण्टा पुरिएका थिए...

वैशाख १२, २०८१ |सुन्दर शिल्पकार
यी हुन् सोनिश अवाल : जो ७२ सालको भूकम्पमा २२ घण्टा पुरिएका थिए...

भक्तपुर । २०७२ को महाभूकम्प सम्झिँदै गर्दा भक्तपुरका बालक सोनिश अवाल कहिल्यै छुट्दैनन् । त्यतिबेला ४ महिना मात्रै पुगेका अवाल अहिले १० वर्षका भए । देश र दुनियाँले समेत भाग्यले बाँचेका भनेर चिनिएका अवाल भूकम्पमा परि २२ घण्टा पुरिएका थिए ।

२०७२ सालको वैशाखमा सोनिश अवाल ४ महिनाका मात्रै भएका थिए । भूकम्प जाँदा उनी दिदी सोनियाँको काखमा थिए । अचानक आएको भूकम्पले उनको परिवारको घर भत्काइदियो । दिदीसँगै उनी पुरिए । उद्धारमा खटिएको सेनाले सोनियाँलाई ४ घण्टापछि उद्धार गर्‍यो तर सोनिश भेटिएनन् । 

परिवार इन्तु न चिन्तु भयो । खुसीको कुरा के भयो भने भूकम्प गएको २२ घण्टापछि सेनाले सोनिशलाई भत्किएको घरको भग्नावशेषबाट निकाल्यो, त्यो पनि जीवितै । त्यो २२ घण्टा सोनिशका बुवा र आमाका लागि जीवनकै कठिन समय थियो । 

सोनिश अहिले कक्षा चारमा अध्ययनरत छन्

आर्थिक अवस्था निकै कमजोर रहेको अवाल परिवारले भक्तपुर स्थित मूलढोकाको आफ्नो घर पुनर्निर्माण गर्न सकेन । लालपुर्जा नभएकाले सरकारले पुनर्निर्माणका लागि दिने अनुदानबाट वञ्चित यो परिवारले जेनतेन ७ वर्षपछि घर पुनर्निर्माण गर्न सक्यो ।

सोनिश अहिले स्थानीय एक विद्यालयमा कक्षा चारमा अध्ययनरत छन् । उनलाई सो विद्यालयले छात्रवृत्ति दिएर पठनपाठनमा सहयोग गरेको छ । भविष्यमा उनी रोनाल्डो जस्तै फुटबलर बन्ने सपना देख्छन् । 

भूकम्पले खोसेको परिवारको खुसी सोनिशको अनुहारको मुस्कानले फर्काएको छ । सोनिशको सफलतापूर्वक उद्धार गरेर अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाएको नेपाली सेनाले सोनिशलाई कक्षा ६ देखि स्नातक तहसम्म पढाउने जिम्मा लिएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।