काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटेनहममाथि चार-दुई गोलको जित हात पारेको छ । लगातार खराब प्रदर्शन गरिरहेको टोटेनहम यो हारपछि अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट नहुने स्थितिमा पुगेको छ ।
ब्राइटनसँग एस्टन भिल्ला एक-शून्य गोलले पराजित भएपछि टोटेनहमका लागि आफ्नो खेल जित्दै शीर्ष चारमा पुग्ने सम्भावना कायमै राख्ने बाटो खुलेको थियो । तर एनफिल्डमा भएको खेलमा पुनरागमनको प्रयास गरे पनि सफल भएन । १६ औँ मिनेटमा मोहम्मद सालाहको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनका लागि कोडी गाक्पोले एसिस्ट गरेका थिए । ४५ औँ मिनेटमा एन्डी रबर्टसनले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा दुई-शून्यको अग्रता लिन सफल भयो ।
५० औँ मिनेटमा गाक्पोले लिभरपुलका लागि तेस्रो गोल थपे । ५९ औँ मिनेटमा हार्भी इलियोटले गोल गरेपछि योर्गन क्लोपको टोली बलियो स्थितिमा पुगेको थियो । ६ मिनेटको अन्तरले दुई गोल गर्द टोटेनहमले खेलमा फर्कने संकेत गर्यो । ७२ औँ मिनेटमा रिचार्लिसनले लिभरपुलसँगको दूरी छोट्याएका थिए । ७७ औँ मिनेटमा सन हिउङ मिनले गोल गरे पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।
टोटेनहम ३५ खेलबाट ६० अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । जुन एक खेल बढी खेल्दै चौथो स्थानमा रहेको एस्टन भिल्लाभन्दा सात अंकले पछि हो । लिभरपुल ३६ खेलबाट ७८ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानेचस्टर सिटीको ३५ खेलबाट ८२ अंक छ ।
एक खेल बढी खेल्दै शीर्ष स्थानमा रहेको आर्सनलको ८३ अंक छ ।