नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र समझदारी

वैशाख १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र समझदारी

काठमाडौं । कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् । 

राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । यसैगरी सरकारी स्तरमा कला तथा संस्कृति, शिक्षा, युवा तथा खेलकुद, कानुनी निकायबीच सहकार्य र कूटनीतिक तालिमसम्बन्धी समझदारी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच संयुक्त व्यापार परिषद् गठनसम्बन्धी सम्झौता र सम्झौता पत्र नवीकरणसम्बन्धी दस्ताबेजमा हस्ताक्षर भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर अल थानीको उपस्थितिमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । सरकारी स्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गर्नुभएको हो । गैरसरकारी स्तरमा भएको समझदारी पत्रमा नेपालका तर्फबाट उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।  

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर अल थानीबीच भएको द्विपक्षीय भेटवार्तामा नेपालमा लगानीको सम्भाव्यताका विषयमा छलफल भएको थियो । उक्त अवसरमा कतारका अमिर अल थानीले कतारको विकासमा नेपालका श्रमिकहरू योगदानको समेत उल्लेख गर्नुभयो । भेटवार्तामा सहकार्य र सहयोगका लागि दुईपक्षीय संयुक्त समिति गठन गर्नेसमेत सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिनुभयो । 

दुईपक्षीय वार्तापछि  प्रधानमन्त्री दाहाल र कतारका अमिर अल थानीबीच एक्लाएक्लै पनि छलफल भएको थियो । कतारका अमिर अल थानीको सम्मानमा आजै दिउँसो प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न काठमाडौं आइपुग्नुभएका कतारी अमिरले हिजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो ।

कतारका अमिर अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किनुभएको छ । अमिर अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.