सल्यान । सल्यानमा एक समूहको कुटपिटबाट २१ वर्षीय युवकको मृत्यु भएको छ ।
सल्यानको कुमाख गाउँपालिका ६ वडागाउँका विकास वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कुमाख- ५ कौछेको एक घरबाट विवाहको भोज खाई फर्कने क्रममा दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको हो ।
कुटपिटबाट घाइते भएका वलीलाई मिसन अस्पताल रुकुम पश्चिमस्थित चौरजहारीमा पुर्याएर सामान्य उपचार गरिएको थियो । अवस्था सुधार नभएपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बुधबार बिहान बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनु भयो ।
कुटपिटबाट वडागाउँका १८ वर्षीय सुशील केसी र २८ वर्षीय मदन केसी घाइते भएको प्रहरीको भनाइ छ । घाइते मध्ये मदन भने डिस्चार्ज भइसकेका छन् भने अर्का एक जनालाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिहं कुमाईं, १९ वर्षीय हेमन्त थापालगायत ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । विवादको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।