कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ ।

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज गुरुङको रिट जारी गर्दै निलम्बन फुकुवा गर्न आदेश दिएको हो । संसद् नियमावलीविपरीत आफ्नो निलम्बन भएको भन्दै गुरुङले गत फागुन २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा किनारा नलागेसम्म सांसद पद निलम्बन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

त्यसैका आधारमा संसद् सचिवालयले गत वर्ष पुस १२ गुरुङलाई निलम्बन गरेको थियो । गुरुङ तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री हुँदा काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement