'फेक न्युज' सम्प्रेषण गर्नेलाई कारबाही गर : अध्यक्ष सिरोहिया

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
'फेक न्युज' सम्प्रेषण गर्नेलाई कारबाही गर : अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतका न्यायाधीशदेखि आफूसमेतलाई जोडेर 'फेक न्युज' उत्पादन तथा सम्प्रेषण' गर्नेलाई कारबाही गर्न माग गर्नुभएको छ ।

'सिधाकुरा डट कम' अनलाइनले शुक्रबार अध्यक्ष सिरोहियासहितको नाम जोडेर भ्रामक अडियो बनाई सम्प्रेषित गरेपछि उहाँले प्रेस काउन्सिललाई पत्र पठाउँदै कारबाहीको माग गर्नु भएको हो । अध्यक्ष सिरोहियाले यस्तो हथकण्डा गर्नेहरूको पछाडि को छ? त्यसको पनि पहिचान गरी कारबाहीको दायरामा ल्याउन राज्यका निकायलाई अनुरोध गर्नु भएको छ ।

अध्यक्ष सिरोहियाले काउन्सिललाई दिएको उजुरीपत्रमा लेखिएको छ, ‘फेक न्युज उत्पादन तथा सम्प्रेषण कानुनी रूपमा पनि दण्डनीय अपराध हो । तर, अहिले प्रविधिको दुरुपयोग गरी भ्रामक सामग्री उत्पादन गर्ने कारखाना बनाएर छद्म व्यक्तिहरूले आफ्नो पूर्वाग्रह साध्नका लागि प्रयोग गरिरहेका छन् । यस्ता समूहले निष्ठावान् व्यक्ति र संस्थाको मानमर्दन मात्र होइन, राज्यका शासकीय संरचनाका विभिन्न अंगहरूलाई बदनाम गर्ने हथकण्डा पनि गरिरहेका छन् । यसैको पछिल्लो कडीस्वरूप सर्वोच्च न्यायपालिका र मिडिया हाउसको नाम जोडिएको हो ।'

हुँदै नभएको बैठक रचना गरेर, पात्रहरूलाई उपस्थित भएको बनाएर तयार पारिएको यो नाटक निश्चित मिडिया हाउस र न्यायाधीशमाथि मात्र होइन, समग्र व्यावसायिक पत्रकारिता र न्यायपालिकामाथि अनास्था फैलाउने उद्देश्यबाट प्रेरित छ भन्ने स्पष्ट रहेको उहाँको भनाइ छ ।

'लोकतान्त्रिक व्यवस्थाका स्तम्भलाई कमजोर बनाएर भीडको शासनमा मनमौजी गर्न खोज्नेहरूलाई पहिचान गरी निरुत्साहित गर्न नसकिएमा अब ढिलो हुनेछ भन्ने मेरो ठहर छ' सिरोहियाले भन्नु भएको छ, 'त्यसैले यो हथकण्डाका पछाडि को छ ? अनुसन्धान गरी कानुनप्रति जवाफदेही बनाउन कान्तिपुर मिडिया ग्रुप प्रेस काउन्सिल र सो संस्थामार्फत राज्यका सरोकारवाला सबै निकायसँग माग गर्दछ ।'

स्वतन्त्र, व्यावसायिक र अनुसन्धानमूलक पत्रकारिताले पर्दाफास गरेका तथ्यबाट अत्तालिएको समूहले समाजमा भ्रम सिर्जना गर्न यस्तो हदसम्मको हर्कत गरेको हो भन्ने अध्यक्ष सिरोहियाको शंका छ । 'अझ यसमा स्वतन्त्र न्यायपालिका र माननीय न्यायाधीशको नामसमेत जोडेर न्यायपालिकालाई बदनाम गर्ने प्रयास गरिएकामा दुःख व्यक्त गर्दछु,' उहाँले भन्नुभएको छ ।

लोकतन्त्रको पक्षमा कान्तिपुर मिडियाले गरिरहेको पहरेदारी तथा भ्रष्टाचार र बेथितिप्रतिको खबरदारीलाई हतोत्साहित गर्न सकिन्छ कि भन्ने कुत्सित मनसायले यस्तो ‘फेक न्युज’ उत्पादन र सम्प्रेषण भएको अध्यक्ष सिरोहियाको ठम्याई छ । सिरोहियाको भनाइ छ, 'तर, यस्ता हथकण्डाबाट ‘कान्तिपुर मिडिया ग्रुप विचलित हुने छैन भन्ने प्रष्ट पार्न चाहन्छु ।'

यही भ्रामक अडियोमा नाम जोडिएका सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले र संवाददाता सुरेन्द्र काफ्लेले पनि आपत्ति जनाउँदै कारबाहीको माग गर्नु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.