इरानमाथि जवाफी कारबाही गर्न इजरायली युद्ध मन्त्रीपरिषद्‌मा सहमति

आफ्नो मुलुकविरुद्ध हुने कुनै पनि कदमको जवाफ दिन तयार रहेको इरानको प्रतिक्रिया
वैशाख ४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इरानमाथि जवाफी कारबाही गर्न इजरायली युद्ध मन्त्रीपरिषद्‌मा सहमति

तेल अबिब । इजरायलको युद्ध मन्त्रीपरिषद्ले शनिबार इरानले गरेको हमलाको जवाफी कारबाही गर्ने विषयमा सहमति जनाएको छ ।

तर, इजरायलले गर्ने आक्रमणबारे भने विस्तृत जानकारी दिइएको छैन । संयुक्त राष्ट्रसंघ, अमेरिका, फ्रान्सलगायत युरोपेली मुलुकले मध्यपूर्णमा युद्ध नभड्काउन दबाब दिए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दोस्रोपटक युद्ध मन्त्रिपरिषद् बैठक बोलाई इरानमाथि जवाफी कारबाही गर्ने सहमति गरेका हुन् ।

नेतन्याहुले विश्वको शान्ति भड्काउने इरानको नियतप्रति एकढिक्का हुन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

इजराइलका सैन्य प्रमुख हेर्जी हालेभीले उक्त हमलाको जवाफ दिने बताएका छन् ।

त्यस्तै इजरायल डिफेन्स फोर्सका प्रवक्ताले इजरायली भूमिलाई रक्षा गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इजरायलले इरानी आणविक केन्द्रमा हमला गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इरानका राष्ट्रपति इब्राहिम राइसीले मंगलबार इरानविरुद्ध हुने कुनै पनि कदमको जवाफ दिने बताएका छन् ।

इरानले शनिबार तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्रले इजरायलमाथि आक्रमण गरेको थियो । तर, इजरायलले उक्त हमलालाई अमेरिका, बेलायत र जोर्डनको सहयोगमा विफल पारेको बताइरहेको छ ।



Enter Kantipur TV HD
Advertisement