स्वदेशमै अत्यावश्यक औषधि उत्पादनको प्रक्रियाअघि बढाइएको छ : स्वास्थ्यमन्त्री यादव

चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वदेशमै अत्यावश्यक औषधि उत्पादनको प्रक्रियाअघि बढाइएको छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

राष्ट्रिय सभा बैठकमा शुक्रबार पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले महामारी, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना तय गरी कार्यान्वयनमा लगिएको जानकारी दिए ।

वडा तहसम्मै आँखाको उपचारमा पहुँच पुर्‍याउन राष्ट्रिय आँखा स्वास्थ्य नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो । स्वास्थ्यमन्त्री यादवले जनताको पोषणको अवस्था सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

‘अति आवश्यक औषधिलाई नेपालमै उत्पादन गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । द्रुत गतिमा फैलिएर आर्थिक, सामाजिक क्षेत्रमा नकारात्मक असर पार्ने महामारी रोगहरुको प्राथमिकताका साथ प्रतिकार गर्न जनस्वास्थ्य, पशुस्वास्थ्य र वातावरणीय स्वास्थ्यका निकायहरुको एकीकृत प्रयासका लागि एक स्वास्थ्य अवधारणा अनुरुप एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत भई कार्यान्वयनमा रहेको छ,’ उनले भने, ‘नसर्ने रोगको बढ्दो भारलाई रोकथाम तथा नियन्त्रणका लागि सम्बद्ध सरोकारवालाहरुको सहभागितामा बहुक्षेत्रीय कार्ययोजना २०२१-२०२५ स्वीकृति गरी कार्यान्वयनमा रहेको र नेपाली जनताको पोषणको अवस्था सुधार गर्न बहुक्षेत्रीय पोषण योजना स्वीकृत भई कार्यान्वयनमा रहेको छ । राष्ट्रिय आँखा स्वास्थ्य नीति २०७९ स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ ।’

सरकारले गरिब नागरिकका लागि उपचारको सेवामा पहुँच पुर्‍याउन सक्दो पहल गरिरहेको स्वास्थ्यमन्त्री यादवको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement