देशभर गर्मी बढ्यो : जनजीवन कष्टकर, सावधानी अपनाउन विज्ञको सुझाव

वैशाख ११, २०८१ |कृपाल गौतम
देशभर गर्मी बढ्यो : जनजीवन कष्टकर, सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौं । धनगढी, भैरहवा, नेपालगन्ज, सिमरालगायत स्थानको तापक्रम एक सातायता ४० डिग्री सेल्सियस नाघ्न थालेको छ । विशेषगरी, पछिल्ला दिनमा बढेको आगलागी, प्रदूषण तथा खडेरीका कारण गर्मी बढिरहेको छ ।

मौसमविद्हरुले आगामी तीन दिन तराईमा तातो हावा अर्थात् लू चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । गर्मीका बेला कस्ता स्वास्थ्य समस्या देखा पर्न सक्छन् र कस्ता सावधानी अपनाउनुपर्छ ?

अहिले देशभर गर्मी बढिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार एक सातायता देशका विभिन्न स्थानको तापक्रम ४० डिग्री नाघ्न थालेको छ । वैशाख ८ मा भैरहवाको तापक्रम ४३.६ डिग्री पुगेको थियो भने वैशाख ७ मा नेपालगन्जको तापक्रम ४०.७ डिग्री पुगेको थियो । यस्तै, वैशाख ७ मा धनगढीको ४०.६, वैशाख ८ मा सिमराको ४०.३ र वैशाख ९ मा जनकपुरको ४०.२ डिग्री पुगेको छ । मंगलबार पनि जनकपुरको तापक्रम ४०.८ र भैरहवाको ४१.१ डिग्री रहेको छ । गर्मी बढेसँगै जनजीवन पनि कष्टकर हुन थालेको छ ।

गर्मी बढ्ने क्रम केही दिन अझै जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा वैशाख १४ गतेसम्म तातो लहर अर्थात् ‘हिट वेभ’ को सम्भावना भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेती भने पछिल्ला अध्ययनले यस वर्ष नेपालमा औसतभन्दा बढी गर्मी हुने दाबी गर्नुहुन्छ । ‘दक्षिण कोरियाको एपेक्स सेन्टरको विश्लेषणअनुसार नेपालमा औसतभन्दा बढी गर्मी हुने सम्भावना ९१ प्रतिशत छ । सम्भावना देखिइसकेको अवस्था छ,’ उप्रेतीले भन्नुभयो ।

गर्मी बढेसँगै स्वास्थ्यमा पनि विभिन्न समस्या निम्तन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन वज्राचार्य बताउनुहुन्छ । यो बेला ब्याक्टेरिया तथा भाइरसको वृद्धिविकास हुने हुँदा पानी तथा खानपानका कारण हुने रोगहरु जस्तै झाडापखाला, टाइफाइड, जन्डिसलगायतको समस्या बढ्ने गर्छ ।

त्यसबाहेक मुटुको धड्कन बढ्ने, बेहोस हुने, बान्ता हुने, वाकवाकी लाग्ने, आँखाको समस्या बढ्नेलगायत विभिन्न समस्या देखिने उहाँको भनाइ छ । ‘ब्याक्टेरिया तथा भाइरसको वृद्धिविकास हुने हुँदा पानीजन्य र खानपानका कारण हुने रोगहरु जस्तै- झाडापखाला, टाइफाइड, जन्डिसलगायत समस्या बढ्दै जान्छ,’ वज्राचार्यले कान्तिपुर टेलिभिजनसँग भन्नुभयो ।

गर्मीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिने भएकाले सतर्कता अपनाउन जरुरी रहेको चिकित्सक बताउँछन् । दिउँसोको समयमा बाहिर ननिस्कने, बाहिर निक्लनै परे छाता वा शरीर ढाकिने गरी पातलो कपडाको प्रयोग गर्ने, बासी तथा सडेगलेको खाना नखाने, प्रशस्त पानी तथा फलफूलको प्रयोग गर्ने र खेतबारीको काम विहान वा बेलुका गर्नेजस्ता सावधानी अपनाउनुपर्ने हुन्छ ।

‘पानी प्रशस्त पिउने, दिउँसोको समयमा बाहिर ननिस्कने, बाहिर निक्लनै परे छाता वा शरीर ढाकिने गरी पातलो कपडाको प्रयोग गर्ने, चस्मा लगाउने, लामो समय घाममा काम गर्नु भएन, श्वासप्रश्वासको समस्या बढ्ने भएकाले मास्क लगाउनुपर्छ,’ वीर अस्पतालका फिजिसियन डा. लोचन कार्कीले भन्नुभयो ।

गर्मीमा देखिने समस्याबारे सतर्कता र सावधानी नअपनाएमा यसले जोखिम बढाउन सक्छ । यस्तोमा सरकारले पनि स्वास्थ्य सेवाको पहुँच बढाउन, अस्पतालहरुमा आवश्यक तयारी गर्न र जनचेतनाका लागि ध्यान दिनुपर्छ ।

यो पनि...

उफ् गर्मी : मुख्य कारण- डढेलो, प्रदूषण र वनविनाश


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement