इलाममा पनि मतगणना आइतबार मात्र सुरु हुने, मतपेटिका संकलन जारी

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाममा पनि मतगणना आइतबार मात्र सुरु हुने, मतपेटिका संकलन जारी

काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र- १ मा उपनिर्वाचन अन्तर्गत आज सम्पन्न भएको मतदानको मतगणना आइतबार बिहान मात्रै हुने भएको छ । इलाममा आजै रातिदेखि मतगणना गर्ने भनिए पनि सबै स्थानबाट मतपेटिका संकलन भई नसकेकाले आइतबार मात्रै मतगणना सुरु गरिने भएको हो ।

इलामका अधिकांश ठाउँको मतपेटिका संकलन भइसकेको छ । अब चुलाचुली, माङसेवुङ, फाकफोकथुम र माइ गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ को मतपेटिका संकलन हुन बाँकी छ । यी केन्द्रको मतपेटिका राति अबेरसम्म संकलन हुने र बिहान मात्र मतगणना गरिने छ । इलाममा राति २ बजेसम्म मात्र मतपेटिका संकलन भइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

बिहान ७ बजे सर्वदलीय बैठक बसेर त्यसपछि मात्र मतगणना सुरु गरिने भएको हो । यस्तै बझाङको सैपालका तीन वटा मतदान केन्द्रको मतपेटिका संकलन आइतबार बिहान हेलिकोप्टरबाट गरिनेछ । दुवै निर्वाचन क्षेत्रमा आज बिहान सात बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

इलाममा ६० र बझाङमा ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यो अपेक्षितभन्दा कम मतदान हो ।

आयोगले दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.