एमालेका सुहाङ नेम्वाङको जित लगभग सुनिश्चित

वैशाख १८, २०८१ |लक्ष्मी गौतम
एमालेका सुहाङ नेम्वाङको जित लगभग सुनिश्चित

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको गणना जारी छ । अब ४ हजार ४ सय ११ मत गन्न बाँकी रहेको छ ।

६९ हजार २ सय ८७ मत खसेको यस क्षेत्रमा हालसम्म ६४ हजार ८७६ मत गनिएको छ । यति मत गणना सकिँदा नेकपा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ६ हजार २४ मतले पछाडि पार्नुभएको छ ।

गणना भइरहेका र सुहाङले अग्रता लिएको मतको अनुपात उस्तैउस्तै रहनुका साथै गनिरहेका स्थानमा पनि एमालेलाई कांग्रेसको हाराहारीमै मत प्राप्त भइरहेकाले सुहाङ नेम्वाङको विजय लगभग सुनिश्चित भएको हो ।

परिणाम सार्वजनिक हुन करिब ८ बजेसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।