बजेट अधिवेशनको तयारी : सदनमा उठाउनुपर्ने विषय के ?

वैशाख २७, २०८१ |दीपक आचार्य
बजेट अधिवेशनको तयारी : सदनमा उठाउनुपर्ने विषय के ?

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलि सुरु हुँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको माग सम्बोधन नगरी सुरु हुन लागेको अधिवेशन कसरी अगाडि बढ्छ भन्ने निश्चित छैन । अन्योलकै बीच सुरु हुन लागेको बजेट अधिवेशनको तयारी र सदनमा उठाउनुपर्ने विषय के छन् ?

पछिल्लो समय सदनमा क्यालेन्डरअनुसार सञ्चालन गरिँदै आएको छ । तर शुक्रबार सुरु हुने अधिवेशनका भने क्यालेन्डर बनेको छैन । शुक्रबारै बस्ने कार्यव्यवस्था परामर्श समितिले टुंगो लगाउने तयारी छ । आवश्यक अन्य तयारी पूरा भए पनि राजनीतिक वातावरण मिल्नुपर्ने अवस्था रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला जनाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै अघिल्लो अधिवेशनमा सदनमा अवरोध गरेको थियो । यसपटक पनि कांग्रेसले त्यही माग उठाउने तयारी गरेको छ ।

यसले सदन प्रभावित हुने जोखिम छ । तर सदनले गर्नुपर्ने काम भने धेरै छन् । विचाराधीन मात्र नभएर नयाँ विधेयक ल्याएर पारित गर्नुपर्नेछ । त्यसैगरी जनसरोकारका विषय उठाउने मात्र होइन सदनबाटै सम्बोधन गर्नुपर्नेछ ।

सहकारीपीडित, मिटरब्याजपीडितलगायत समस्या सुल्झाउन सदनमा गम्भीर छलफल गर्नुपर्नेछ । वैदेशिक रोजगारीका क्रममा भएको ठगी र पीडितका पक्षमा सांसदको पहल गर्नुपर्नेछ ।

प्राकृतिक विपत्ति जसमा आगलागी पीडित र भूकम्पपीडितका समस्या समाधानमा राज्य संन्त्रयको ध्यान पुगेको छैन । पछिल्लो एक वर्षमा महिला र बालबालिकासँग सम्बन्धित उजुरी नै २१ हजार दर्ता भएका छन् । घरेलु हिंसाका १६ हजार उजुरी छन् । यी विषयमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन जनप्रतिनिधिले सरकार र सम्बन्धित निकायलाई दबाब दिनुपर्नेछ ।

त्यसो त पछिल्लो एक वर्षमा बैंकिङ कसुरका १३ हजारभन्दा बढी र ठगीका १६ सयभन्दा बढी उजुरी प्रहरीमा परेका छन् । यसका साथै अर्को जल्दोबल्दो विषय साइबर सुरक्षासँग जोडिएको छ । अनलाइन ठगी, साइबर अवराध र सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि नियन्त्रण गर्न सांसदहरुले सरकारलाई जिम्मेवार बनाउनुपर्नेछ । तर सदन नै कसरी अघि बढ्छ भन्नेमा अन्योल छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्नेदेखि विधायकी कामसमेत अहिलेको अधिवेशनबाट गर्नुपर्नेछ । तर अधिवेशन सुरु हुने बेलासम्म दलहरुबीच कुनै सहमति नबन्दा यो अधिवेशनले पनि परिणाम दिने गरी काम गर्नेमा आंशका छ । 


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।