काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो आज सुरु भएको छ । बिजुली खपत बढाउने सन्देश दिँदै विद्युतीय सवारी र्यालीसहित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गरिएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजना गरेको हाइड्रो एक्स्पो अघि निकालिएको विद्युतीय सवारी र्यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
विद्युतीय सवारी प्रवर्द्धन र विद्युत् खपत बढाउने सन्देश दिँदै ईभी र्याली गरिएको हो । र्यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए । हाम्रो बिजुली हामी आफैँ खपत गरौँ भन्ने सन्देश दिन ईभी र्याली निकालिएको इपानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।
सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गरी १३ हजार मेगावाट आन्तरिक खपत गर्ने लक्ष्य लिएको छ ।