काठमाडौं । भारतले विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ । सम्झौता नवीकरण बुधबार गरेको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
सम्झौता नवीकरणसँगै अब नियमित रुपमा नेपालमा बिजुली आउने भएको छ । नवीकरण नभए लोडसेडिङ हुने भनेर समाचार आएपछि बुधबारै अर्थ समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको जानकारी दिएका थिए ।
भारतबाट बिजुली खरिदका लागि हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) ले गर्ने गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६ सय मेगावाटभन्दा बढी विद्युत् आयात गर्दै आएको छ ।