रफायल नाडालले गरे मड्रिड ओपनमा विजयी सुरुवात

अमेरिकाका १६ वर्षीय डार्विन ब्लान्च माथि सोझो सेटमा विजयी
वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रफायल नाडालले गरे मड्रिड ओपनमा विजयी सुरुवात

काठमाडौं । रफायल नाडालले मड्रिड ओपनमा विजयी सुरुवात गरेका छन् । स्पेनिस नाडालले, अमेरिकाका १६ वर्षीय डार्विन ब्लान्च माथि सोझो सेटमा जीत हात पारेका हुन् ।

नाडालले आफू भन्दा २१ वर्ष १ सय १७ दिन कान्छा ब्लान्चलाई पहिलो सेटमा ६-१ ले पराजित गरेका थिए । एटिपी मास्टर्स वान थाउजेन्ड लेभलको प्रतिस्पर्धामा  यो अहिले सम्मको फराकिलो उमेर अन्तर हो । यो सेट जित्न उनले मात्र २८ मिनेट खर्चिएका थिए । 

वाइल्ड कार्ड मार्फत प्रवेश पाएका टिनेजर ब्लान्चको यो केवल दोस्रो एटिपी टुर हो  । उनले अघिल्लो महिना मायामीमा डेब्यु गरेका हुन् । दोस्रो सेट ३७ वर्षका नाडालले ६-शून्यले आफ्नो पक्षमा पारेका थिए । उनले जीतका लागि कुल ६३ मिनेट कोर्टमा बिताए । एटिपी टुरमा पहिलो जीतको खोजीमा रहेका ब्लान्चले २७ अनफेस्ड एरर गरेका थिए । 

नाडालको मड्रिडमा यो किर्तिमानी ५७ औं जीत हो  । उनले यो प्रतियोगिताको उपाधी पांच पटक जितेका छन् । पछिल्लो पटक नाडाल क्लेमा सन २०१७ मा च्याम्पियन बनेका थिए । संभवत नाडालको यो  अन्तिम मड्रिड ओपन हुन सक्छ । उनले सन २०२४ को सिजन सकिएसंगै सन्यास लिने संकेत गरेका छन् ।  

दोस्रो चरणमा नाडालको भेट  अस्ट्रेलियन दशौं वरियताप्राप्त आलेक्स डिमिनो संग हुनेछ । गत साता बार्सीलोना ओपनको दोस्रो चरणमा नाडालले उनैसंग हार बेहोरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.