डेम्बेले र एम्बाप्पेको २-२ गोलको मद्दतमा लोरिएन्टविरुद्ध पीएसजी ४-१ ले विजयी

शनिबार हाभ्रेलाई जिते लगातार तेस्रो पटक लिग वानको उपाधि जित्ने
वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेम्बेले र एम्बाप्पेको २-२ गोलको मद्दतमा लोरिएन्टविरुद्ध पीएसजी ४-१ ले विजयी

काठमाडौं । उस्माने डेम्बेले र केलियन एम्बाप्पे दुवैले समान २-२ गोल गरेपछि लोरिएन्टविरुद्ध ४-१ को फराकिलो जित दर्ता गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको उपाधि नजिक पुगेको छ । डेम्बेलेले १९ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । त्यसको ३ मिनेटपछि एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । ६० औं मिनेटमा डेम्बेलेले ब्याक्तिगत दोस्रो गोल गरे ।

७३ औं मिनेटमा बेन्जामिन मेन्डीको पिनपोइन्ट क्रसमा बाम्बा डिएङले हेड गरेपछि लोरिएन्टले सान्त्वना गोल फर्कायो । तर ९० औं मिनेटमा फ्रान्सेली कप्तान एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४-१ गोल अन्तरको सहज जित दर्ता गर्न सफल भयो ।

यससँगै एम्बाप्पे युरोपको शीर्ष पाँच लिगहरूमध्ये कुनै एकमा लगातार चार सिजन २५ गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी बने । गएराति नै उपाधि नजिक पुगे पनि युसुफ फोफानाको गोलमा मोनाकोले लिलीलाई १-० ले हराएपछि पीएसजीले लगातार तेस्रो उपाधि पक्का गर्न कुर्नु परेको छ । अब शनिबार घरेलु मैदानमा हुने ले हाभ्रेविरुद्धको खेल जिते पीएसजीले उपाधि सुनिश्चित गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement