कर्पोरेट सुपर सिक्सेस क्रिकेट वैशाख अन्तिम सातादेखि, २४ टोलीबीच प्रतिस्पर्धा

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्पोरेट सुपर सिक्सेस क्रिकेट वैशाख अन्तिम सातादेखि, २४ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं । कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सातौं संस्करण आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ । एसएस एभेन्ट्स प्रालि र नेकोसले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर आगामी वैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिइएको हो ।

तीन वर्षपछि आयोजना हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले जानकारी दिए ।

एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउनेभन्दा पनि नेपाली क्रिकेटमा विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्र्याउने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गर्दै आएको जनाए । अब छिटै उमेरसमूहका प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने उनको योजना छ ।

सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौं सिजनदेखि नेकोस जोडिएको हो । पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लभ घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो ।

छैटौं संस्करण सन् २०२० मै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन । प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । काम गरेको ६ महिना पूरा भएमा व्यावसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement