इलाम र बझाङमा उपनिर्वाचन आज

मतादान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्ने
इलाममा १४९ मतदान केन्द्रमा मतदान हुँदै, १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा
बझाङ प्रदेश सभा-१(१) मा ९३ वटा मतदान केन्द्रमा मतदान हुँदै, ११ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा
वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम र बझाङमा उपनिर्वाचन आज

काठमाडौं । इलाम-२ र बझाङ प्रदेश सभा-१(१) मा आज उपनिर्वाचन हुँदैछ । बिहान सात बजेबाट मतदान सुरु हुने इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो । उहाँले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने जानकारी दिनुभयो ।

इलाम-२ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् । मतादानका लागि ७ सय ४५ जना कर्मचारी खटिएका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाा मतदाता थपिएका हुन् । सबै मतदाताहरुलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत घिमिरेले मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणनास्थलमा लैजाने बताउनुभयो । पुरुष तथा महिलाका लागि अलग/अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ । मतदान केन्द्रहरूको नेपाली सेनाको हवाई गस्तीको प्रबन्ध पनि मिलाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार इलाम-२ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैगरी बझाङ प्रदेश सभा-१(१) को उपनिर्वाचनका लागि पनि मतदान आजै हुँदैछ । बझाङ प्रदेश सभा-१(१) मा ७४ मतदान स्थलमा ९३ वटै मतदान केन्द्रमा मतदाता हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताउनुभयो । मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो ।

सुरक्षा समितिको विश्लेषणअनुसार बझाङका २३ वटा मतदान केन्द्र अति संवेदनशील रहेकोले सोही अनुसार सुरक्षा व्यवस्थापन गरिएको छ । मतदानपछि मतपेटीका सदरमुकाम ओर्सानको लागि पनि आवश्यक सवारी साधन र सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताउनुभयो । साइपाल गाउँपालिकाको काँडा, धुली र न्युना केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत संकलन गर्ने र अन्य केन्द्रको सडक सवारी मार्फत ल्याउने गरी तयारी भएको उहाँले बताउनुभयो ।

उपनिर्वाचनका लागि बझाङ प्रदेश सभा-१(१) मा ११ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भए पछि यहाँ उप निर्वाचन हुन लागेको हो । यस निर्वाचन क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.