उपनिर्वाचन-२०८१ : मौन अवधि सुरु, मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध

वैशाख १३, २०८१ |विप्लव भट्टराई
उपनिर्वाचन-२०८१ : मौन अवधि सुरु, मतगणना सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध

इलाम । वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङमा आजदेखि मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सुरु भएको जनाउँदै मतगणना सम्पन्न नभएसम्मका लागि प्रचारप्रसार निषेध गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागु हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएसँगै मतदान केन्द्रहरुको कर्मचारी र निर्वाचन सामग्री पठाउने क्रम तीव्र पारिएको छ ।

प्रतिनिधिसभाको इलाम-२ र बझाङको प्रदेश सभा -१ (१) मा उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागु गरिएको छ । २०७९ मंसिर ४ मा भएको आम निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । 

बझाङको प्रदेश सभा -१ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । 


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement