एकीकृत समाजवादीको फरक चाल : सत्ता गठबन्धनमा हलचल

वैशाख ३, २०८१ |बालकृष्ण अधिकारी
एकीकृत समाजवादीको फरक चाल : सत्ता गठबन्धनमा हलचल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा एकीकृत समाजवादीकी नेतृ रमा आले मगर प्रदेशसभामै उपस्थित भइनन् । मगरकै कारण बैठक ३ घण्टा पछाडि सर्‍यो ।

विश्वासको मत दिँदा पनि एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण खनालको मन्तव्य चेतावनीयुक्त नै थियो । तर केन्द्रीय नेतृत्वको दबाबमा बागमती सरकारलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा भने फरक चाल चलेको छ ।

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी नेतृ रमा आले मगरको अहिलेसम्म विभागीय जिम्मेवारी ताकिएको छैन । मन्त्री बन्दा एक साताभित्रै जिम्मेवारी तोक्ने भनिए पनि हालसम्म मगरलाई जिम्मेवारी दिइएको छैन । बागमतीमा यसअघि कांग्रेससँग गठबन्धन हुँदा दुईवटा मन्त्रालय पाएको नेकपा एकीकृत समाजवादीले नयाँ गठबन्धनमा तीनवटा मन्त्रालय पाउनुपर्ने अडान राखिरहेको छ ।

गठबन्धनभित्र दबाब बढाइरहेको नेकपा एकीकृत समाजवादीले उता सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र कांग्रेसको गठबन्धनलाई सहयोग गरेको छ । सुदूरपश्चिममा कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तीको रेशम चौधरी समूहका पाँचजना र राप्रपाबाट एकजना प्रदेश सभा सदस्यको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

केन्द्रमा नागरिक उन्मुक्तिलाई नै सरकारको नेतृत्व दिने सहमति बने पनि नेकपा एकीकृत समाजवादीले त्यहाँ फरक गठबन्धनलाई समर्थन गरेको छ ।

बागमती प्रदेशमा सरकार जोगाउन नेकपा एकीकृत समाजवादी निर्णायक छ । समाजवादी सरकारबाट बाहिरिँदा राप्रपाले समर्थन गरे मात्रै अहिलेको गठबन्धन कायम रहन्छ । अन्यथा सरकार टिकाइराख्न नेकपा एकीकृत समाजवादीलाई फकाउनुको विकल्प देखिँदैन । तर सरकारले आफ्नो अस्तित्वलाई स्वीकार नगरेको बागमती प्रदेशका नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्णु दाहालको तर्क छ ।

एकीकृत समाजवादीको यो राजनीतिक चालले अन्य प्रदेशमा असर नदेखिए पनि सुदूरपश्चिम र बागमती भने यसको प्रभाव पर्नसक्ने देखिएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement