काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।
आज जारी राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरुको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् ।
अध्यक्ष दाहालले मन्त्रीहरुलाई निर्देशन दिँदै भने, 'माननीय सदस्यहरुले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरुका सम्बन्धमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५(क) को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’