‘धोका’पछि देउवासँग पहिलो भेट- फकाए दाहालले

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
‘धोका’पछि देउवासँग पहिलो भेट- फकाए दाहालले

काठमाडौं । सत्ता गठबन्धन फेरबदलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज पहिलोपटक भेटवार्ता भएको हो ।

गठबन्धन फेरिएपछि असन्तुष्ट बनेका सभापति देउवालाई फकाउन प्रधानमन्त्रीले आज बालुवाटारमै बोलाएर छलफल गरेका हुन् ।

सत्ता गठबन्धनमा प्रदेशको नेतृत्व भागबन्डा नमिलिरहेको र विपक्षी कांग्रेसले प्रतिनिधिसभासमेत अवरुद्ध गरिरहेको अवस्थामा दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री दाहाल र र कांग्रेस सभापति देउवाबीचको भेटमा संसद् सञ्चालन र संक्रमणकालीन न्यायलगायत महत्त्वपूर्ण विधेयक अघि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भेटमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने कांग्रेसको मागका विषयमा पनि कुराकानी भएको आचार्यले जनाए ।

यसैगरी आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक र त्यसका एजेन्डाबारे पनि दुई नेताबीच कुरा भएको छ ।

यता प्रदेश सरकारको नेतृत्वका विषयमा सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेका बेला प्रधानमन्त्री दाहालले विपक्षी दलका नेता तथा कांग्रेसका सभापति देउवासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसका नेताहरुले अहिलेको गठबन्धन धेरै समय नटिक्ने दाबी गर्दै आएका छन् । त्यसले पनि यो भेटघाटमा राजनीतिक विषयमासमेत कुरा भएको हुनसक्ने बुझाइ नेताहरुको छ । तर यसबारे न प्रधानमन्त्री बोलेका छन् न त देउवाले नै सार्वजनिक गरेका छन् ।

त्यसो त नेपाली कांग्रेस र एमालेका नेताहरुबीच समेत भेटघाट र छलफल बाक्लिएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत नेताहरु एमाले अध्यक्ष केपी ओलीकै निवास बालकोट पुगेर छलफल गरेका थिए ।

यता कांग्रेस महामन्त्री गगन थापालगायत नेताहरुले पनि केही दिनअघि प्रधानमन्त्री दाहालसँग बालुवाटारमै पुगेर भेटघाट गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement