महोत्तरीका आगलागी पीडितको गुनासो- प्रदेश र संघ सरकारले बेवास्ता गरे

बढ्दै बास र भोजनको समस्या
वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीका आगलागी पीडितको गुनासो- प्रदेश र संघ सरकारले बेवास्ता गरे

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलगाीबाट पीडित स्थानीयहरुले नागरिहरुप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनीहरुले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडोभन्दा चाँडो गर्नुपर्नेमा बेखबर हुनु शोभनीय नभएको बताए । नागरिकहरु आगलागीबाट पीडित बन्दापनि प्रदेश र संघ सरकारले कुनै पनि राहतको घोषणा नगर्नु दुःखको कुरा भएको उनीहरुको भनाइ छ । महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा गएको बुधबार आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए ।

मध्याह्न १२ बजे सल्किएको आगो साँझ ६ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट घरबारविहीन भएकाहरु त्रिपालमुनि रात काट्न बाध्य छन् । उनीहरु गर्मी समयमा घरभित्रै बस्नुपर्ने बेलामा घाममा बस्नुपरेको र यसले अन्य रोगको जोखिम बढाउनेमा चिन्तित छन् । साथै प्रदेश र संघ सरकारले आगलागी पीडितका लागि राहत घोषणा नगर्दा राज्य छ भन्ने महसुस गर्न नसकेको उनीहरुको एकस्वर छ ।

आगलागी भएको बस्तीमा अवलोकन एवं निरीक्षणका लागि पुगेका नेपाली कांग्रेकसा सहमहामन्त्री महेन्द्र यादवले प्रदेश र संघीय सरकारले चाँडोभन्दा चाँडो राहतको घोषणा गर्नुपर्नेमा बेखबर भएको बताउनुभयो । उहाँले जनताको दुःखमा सरकार बेखबर हुनु दुःखद् भएको भन्दै प्रदेश र संघ सरकारले कुनै राहत घोषणा नगरेको बताउनुभयो ।

आगलागी पीडित फूलदेवी पासवानले आगोका कारण सबै जलेर नष्ट भएको र लगाउने कपडा र खानेकुरा केही नरहेको बताउनु भयो । उहाँले आगलागी कारण आफूले पालिरहेको गाई मरेको र अन्य केही नबचेको बताउनुभयो । त्यस्तै अर्का आगलागी पीडित मोहम्मद सेखले गर्मीको समयमा पाल टाँगेर बस्नुपरेको र यसले बालबालिकाहरुमा रोगको जोखिम बढाउने बताउनुभयो । उहाँले खानेकुराहरुको पनि अभाव हुँदै गएको र सरकारले चासो नदेखाएको गुनासो गर्नुभयो ।

यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागी भएको दिनदेखि नै पीडित परिवारलाई राहत उपलब्ध गराउन लागिपरेको बताउनुभयो । उहाँले नगरपालिकाले चिउरा, चिनी, त्रिपाल, बाल्टिन र जग उपलब्ध गराएको बताउनुभयो । उहाँले बाल्टिन र जग नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको र बिस्कुट र आँटालगायत खानेकुराहरु वितरण गरिरहेको बताउनुभयो ।

पीडितलाई तत्काल पर्ने हरेक किसिमका सहयोग उपलब्ध गराइरहेको उहाँको भनाइ छ । उहाँले चामल, दाल र पैसा उपलब्ध गराइने आश्वासन दिनुभयो । प्रदेश र संघ सरकारलाई राहतको प्याकेजका लागि सहयोग गर्न पत्राचार गरिएको उहाँको दाबी छ ।

नगरप्रमुख मण्डलले पीडितलाई बास र भोजनको समस्या सबैभन्दा ठूलो रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश र संघ सरकारसँग समन्वय भइरहेको र सोहीअनुसारको व्यवस्थापन भइरहेको छ ।

-न्युज एजेन्सी नेपाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.